साहिँलो काका




घरको ल्यान्डलाइन किरिरि किरिरि बज्यो ।
हेलो !
उताबाट साहिँलो काकाको मसिनो बोली आयो— ‘के कसो छ जेठा ?’
‘राम्रो छ काका । तपाईँकै नौलो किताब ‘सुकरातको डायरी’ छिचोल्दैछु ।’
काका हाँस्नुभो । हाँस्दाहाँस्दै भन्नुभो— कस्तो छ केटा ?
—फोस्के भूसहरुले चैँ नपढे हुनेरहेछ काका । सारा जगतका सम्पूर्ण किताब खर्लप्पै पढिसिध्याएर लास्टमा पढ्नुपर्ने किताब रहेछ ।
फेरि हाँस्नुभो ।
नौलो प्रयोग हो केटा यो ।
हो रैछ काका । तीसौँ अध्याय सकेर अर्को पेजमा पुगेको मात्र थिएँ म झस्किएँ ।
हाउ ! किन झस्किस् ?
उपन्यास पढ्दै जाँदा ह्वात्तै सिरानमा Exercise लेखेको पन्ना पल्ट्यो । हे राम ! छवटा पसिना छुटाउने प्रश्न । तीमध्ये चार नम्बरमा ‘जोडा मिलाउनुहोस्’ रैछ । मिलाइदिउँ न त जोडा भनेर बल गरिहेरेँ । अहँ ! पार लागेन । पहिले पहिले स्कुलमा उत्तर मिलाउन नसकेर पिँडुलामा सिर्कना लाग्थ्यो । अहिले मनमा सिर्कनुले तात्नेगरि दियो तपाईँको उपन्यासले । अनि पहिलो पृष्ठबाट फेरि पढ्न थालेँ काका । जसरी भएपनि पास त हुनै पर्यो ।
फेरि हाँस्नुभो ।
बल गर है केटा । भूस होलास् ।


काकासँगको फोनवार्ता मेरा बाले एकतर्फी सुनिरहनुभएको रहेछ । फोन राखेपछि भन्नुभो— साहिँलोले भन्नेगरेको भूस नै रैछस् नि तँ । उपन्यासमा ‘अभ्यास’ भनेर दिएका प्रश्नहरुको उद्देश्य पाठकले उत्तर लेखेर पठाउन् भन्ने हो त ?
अनि के हो त ?
त्यो प्रयोग हो । कथाको हिस्सा हो । अन्य पृष्ठहरु जस्तै त्यो पृष्ठ पनि सरर पढ् । बस् ! अर्को पृष्ठमा हामफाल् । तेरो अध्ययन पुगेन स्याल ! हाडे ओखर दाँतले फुटाएर गुदी निकाल्न खोज्छस् ?
बाका कुराले फेरि सिर्कनु लाग्यो । अठोट गरेको छु— ओखर पक्का हाडे हो । तर, फुटाएर गुदी खाएरै छाड्छु । दाँत दुखे दुखोस् । भाँच्चिन चाहिँ नभाँच्चियोस् । फुस्किन चाहिँ नफुस्कियोस् । अहिले झन् गम्भीर रुपले सुरुदेखि पढ्दैछु । 
र, पढ्दापढ्दै बीचबीचमा साहिँलो काकालाई सम्झिरहन्छु । यस्तैमा मलाई अहिले ठ्याक्क एउटा घटना सम्झना आयो । काका अघिल्लो महिना घर आउनुभाथ्यो । आएको भोलिपल्ट बिहान सिकुवाको ब्रेन्चीमा बसेर दहीचिउरा खाँदैहुनुहुन्थ्यो । छेउमा मधुमेहको औषधीका बल्ढ्याङ्ग्रे गोटी थिए — दहीचिउरापछि आफ्नो पालो कुरेर बसेको औषधी । किनभने त्यो ओखतीगोली खाली पेटमा खान हुँदैन । 
छिमेकी मामा धुन्दुराम परैदेखि काकालाई नमस्ते गर्दै आइपुगे । उनको मुखबाट निस्केको पहिलो शब्द ‘नमस्ते’ थियो र लगत्तै निस्केको वाक्य थियो— तपाईँलाई सुगर छ हैन ?
धुन्दुमामाको विषयमा साँच्ची एउटा सम्झिनैपर्ने कुरा छ । त्यो के भने उनी हदै फित्कौली मान्छे हुन् । लुरे ज्यानका । कच्याककुचुक पारेर धर्मकाँटामा जोख्ने हो भने उही पैँतीस किलोका होलान् । हद से हद चालीस । त्यो भन्दा पर्तिर त मरेकाट्टे होइनन् । उनको यो भाटे ज्यान सम्झिरहनुस् है ! आउनलागेको सम्वादमा काम लाग्छ । 
त्यही त उनको मुखबाट निस्केको पहिलो शब्द ‘नमस्ते’ थियो र लगत्तै निस्केको वाक्य थियो— तपाईँलाई सुगर छ हैन ?
काकाः हो । 
धुन्दुरामः त्यही भएर पो अत्यन्त सुक्नुभएछ । (खासमा काका मोटोघाटो नै हुनुहुन्छ )
काकाः तपाईँलाई त केही विमारी छैन नि ?
धुन्दुरामः अहँ छैन । 
काका : त्यही भएर पो अत्यन्त हृष्टपुष्ट हुनुहुँदोरहेछ । 

धुन्दुराम फुत्तै उठेर कता बिलाए कता । चट्याङ्का बेला बिजुली चम्किनेबित्तिकै आकासमै बिलाएजस्तो बिलाए धुन्दुराम । 
अब अर्को कुरो, उनको नाम खासमा धुन्दुराम होइन । यो त मैले नाम परिवर्तन गरेर धुन्दुराम पार्देको । यसो गर्नु आवश्यक छ किनभने उनका दुवै छोरा कराँते च्याम्पियन हुन् र मेरो ब्लगको ठेगाना पनि तिनीहरुलाई थाहा छ । मलाई रातबिरात हाटबजार हिँड्नुपर्छ । केहो केहो नि । ‘सुकरातको डायरी’मा निलिमाले भनेकी छ पनि— समय खराब छ । दिनदिनै मान्छे मारेको सुन्छु । किन हिँड्नु अँध्यारामा ? मार्छन, नमारे पनि अधमरो पार्छन् ।
चम्चाले बटुको खर्याकखुरुक पारेर दहीचिउराको अन्तिम गाँस मुखमा हाल्दै गर्दा अर्का एक स्थानीय कथाकार आइपुगे उसैगरी परैबाट नमस्ते मार्दै । र चेतनाशून्य उनले उसैगरी उस्तै दिव्यवाणी  ओकले— राम ! राम ! कसका लागि हो यत्रा बडाबडा गोली ?
काकाः परिवारकै लागि हो । सबैलाई पुग्नेगरी रस बनाएर भातसँग मुछ्न । 
उनले त्यसरी राम ! राम ! लगाएर प्रश्न गर्दा उनको चेतना सुतेको थियो । काकाले गतिलो मुक्के उत्तर फर्काउँदा पनि उनको त्यो चेतना ब्यूँझिएन किनभने उनले बुझ्दैबुझेनन् । त्यसलाई मीठो ठट्टा सम्झेर खित्का छोडे जब्बर तालले । मनमष्तिस्कमा निद्रामा डुबेको चेतना बोकीहिँड्नेहरु पनि कथाकार बन्दा रहेछन् । नि काका ?
उनी हिँडेपछि मान्छेका प्रवृतिका बारे धेरै कुरा काकाले भन्नुभो । होसियार गर् है केटा । सकारात्मक सोच राख् है केटा । पूर्णिमाको कुरो गर्ने गर् । औँसीको विषयमा नबोल् है केटा । नत्र भूस होलास् । 


माहिला फुपा



बिहान माथि पहाडतिरबाट सिरेटो चल्यो । चिसोले सेकिएर नाक–कान–गाला सप्पै लाट्टिए । कान छाम्यो– कानै छैन, नाक छाम्यो– नाकै छैन । यस्तोमा मलाई हर्हरी बाफ चल्ने चामलपिठोको भक्का याद आउँछ । चिसामा तातोभक्का कुपुकुपु खानुको आनन्द म लेख्न सक्तिनँ । त्यसैले लागेँ फाल्गुनन्द चोकतिर । यो चोकमा प्रत्येक हिउँद एउटी धिमाल दिदी भक्का बेच्छिन् । दिदी कोइले चुलोमा माटोको गाग्री बसाउँछिन् । गाग्रीको साँघुरो मुखमा रुमाल ओछ्याउँछिन् । पानी उम्लेपछि गाग्रीको मुखबाट हस्हसी वाफ चल्न थाल्छ । नाङ्लाको पिठो स्टिलको बटुकोमा भर्छिन् । त्यै वाफमा पिठो भरिएको बटुको घोप्ट्याउँछिन् । बस् ! भक्का तयार ।

आज दिदीलाई भ्याइनभ्याइ रहेछ । दमकबजारका सारा भक्काप्रेमी त्यहाँ थुप्रिएछन् । भक्का पाक्छ, एउटाले खान्छ । अर्को भक्का पाक्छ अर्कैले खान्छ । ‘मेरा नम्बर कब आएगा?’ कुर्नु कुरेपछि बल्लतल्ल मेरो नम्बर आयो र एउटा भक्का हातपर्यो ।

त्यो खाइनसक्दै माहिली फुपुका जेठा सुपुत्र प्रदिप ट्याक्कै आइपुगे । मैले झण्डै नचिनेको । अघिल्लो साता भेट हुँदा भान्जाभाइको रङ्गरुप अर्कै थियो । हेयरजेलको कमालले कपाललाई सुइरैसुइरा बनाएर आकासतिर फर्काएका थिए र मलाई यसो हल्केलो उठाएर भनेका थिए– ‘हेल्लो दाज्जु ! दिस इज रिक्की मार्टिन ।’ यसपटक भने कपाल ठुट्याएछन् । मसिनो गरी छाँटेर पुरै सेट्टी भएछन् भान्जा । अनि त्यसलाई फिनिसिङ टच दिनका लागि निधारदेखि पछाडि घुच्चुकसम्म छ–सात ओटा रेखा बनाएका रहेछन् । त्यसैले त ! यी अवतारी भान्जालाई झण्डै नचिनेको मैले ।

यसो भक्का पाक्ने चुलोतिर भान्जाले हेरे । अनि हेरे भीडलाई । पालो कुरेर भक्का खाँदा बाह्र बज्ने स्थिति भान्जाले देखे । त्यसैले मेरो आधा भक्का उनले भ्याइदिए । यसमा मेरो भन्नु केही छैन । म भान्जाभाइलाई माया गर्छु ।

‘काउलीतरकारी किन्न आथेँ दाज्जु । तपाईँलाई टक्क देखिहालेँ ।’— भान्जाले हातको काउलीको पोको उचालेर देखाए ।
‘बाल त बबाल छ भान्जा ।’– मैले धाप मारेँ ।
किशोरवयमा भर्खरभर्खर पसेका भान्जा एम्प्लिफाइड धोद्रे आवाजमा बोले—‘हेन्सी छ हैन्त दाज्जु । पचास रुप्पे बढ्ता तिरेर यो डिजाइन हान्देको ।’
‘काइदा देखिया छ भान्जा । अन्य खबर के छ ?’
भान्जाले भुँडीमा दुईपल्ट प्याट्प्याट हिर्काए र मेरो कानमा फुस्फुसाए–‘सब्जी कम खा’र हल्का कब्जी भा’छ दाज्जु ।’
‘हाउ ! के भनेको भान्जा मैले बुझिनँ ।’
‘दुईदिन घरमा रायोमात्र पकाए दाज्जु । रायोसाग भनेपछि मलाई गिदी लाग्छ । पिटिक्कै जाँदैन । सागसब्जी नखाएर कब्जियत भो ।’
बल्ल बुझेँ । त्यै भएर भान्जा मनपसन्द फूलकोबी किन्न आफैँ आएछन् । मैले पनि भान्जाका कानैमा भनेँ— ‘मसँग अचूक उपाय छ भान्जा ।’
‘के होला दाज्जै ?’
‘खालि पेटमा डबलपिरो चटपटे खानुपर्छ । कब्जियत खलाँस् ।’
‘हैन होला ! खालि पेटमा पिरोले बिगार्दैन ?’
‘हट् भान्जा ! के को बिगार्छ ? सपार्छ चैँ । यही त हो अचूक उपाय ।’

नभन्दै भान्जाले पर्तिर महेन्द्रको चटपटे ठेलाअगाडि उभिएर पेटखलाँस हुने आशैआशमा दुईसोली पिरो चटपटे फाँको मारे । हत्तेरिका ! म पनि कहिलेकाहीँ परपीडक भइहाल्छु ।

हामी छुट्टियौँ । पिरोले सुइसुइ गर्दै भान्जा बाटा लागे । जाँदाजाँदै भन्न भ्याए– ‘बुबा आउनुभाछ ।’
‘आहै ! दिउँसो हाम्रातिर पठाइदेऊ है भेनालाई ।’

भान्जाका बा अर्थात् मेरा माहिला फुपा भनेपछि म हुरुक्कै हुन्छु । म उनको फ्यान हुँ । उनी कुनै सिनेमाको हिरो त होइनन् । तर, मेरा लागि सिनेमाको हिरो भन्दा कम छैनन् । किनभने, माहिला फुपा भनेपछि म हेर्दाहेर्दैको सिनेमाको क्लाइमेक्स छोडेर उनीतिर दौडिन्छु । साह्रै रसिला बात मार्छन् फुपा ।

माइला फुपासँग भेट हुने कल्पनाले म फुरुङ्ग परे । प्रिय भेनासँग बसेर दिउँसो शिकार–चिउरा खाजा खाने विचार आयो र लागेँ खसीको शिकार किन्न गोसलाइनतिर । खसीकट्टा कार्की दाइले अति बलियो खसी लडाएछन् । हे राम ! आङ्भरि सेताम्मे बोसो ।
‘लु कार्की दाइ, बोसो नहाली एक किलो जोखौँ त ।’
दाइले एकातिर पल्लामा एक किलाको ढक हाले र अर्का पल्लामा भटाभटी मासु हाल्न थाले । गर्दनको सानो टुक्रो हाले । एउटा करङ् हाले । कलेजो हाले । फोक्सो हाले । खसीको घुँडो चाहिँ नहालेका भए हुन्थ्यो । त्यो पनि हाले । राजखानीको टुक्रो त झन् नहालेका भए हुन्थ्यो त्यो पनि हाले । म केही बोलिनँ । तर जब लट्टा परेको बोसो उचाले । मैले छेकिहालेँ– ‘बोसो बन्दै नहालौँ है कार्की दाइ बन्दै । घरभरि ग्याँस्टिकका पिण्डरोगी छन् । नाइँ है कार्की दाइ नाइँ ।’
‘हैन भाइ । अलिअलि सेतो कुरो चाहिन्छ । खसी भनेको त्यस्तो सब्जी हो जसको भुँडीभित्रको र छालाबाहिरको बाहेक जम्मै थोक खानुपर्छ ।’
काकीँ दाइले टेरेनन् । आधा पाउजति बोसो भिडाएरै छाडे । हुन पनि हो, सिङ्गै खसी दाम हालेर किनेपछि बोसो पनि बेच्नैप¥यो ।

फुपा दिउँसोतिर आए । धानसुकाउने चट्टलमा राडि ओछ्याएर न्याना घाममा फुपालाई बसाएँ । अनि थाल्यौँ शिकार–चिउरा चपाउँदै बात मार्न । भेनाले कुरो निकाले–‘त्याँ मास्तिर फुएँतप्पा गाउँमा अचम्मको घटना सुनियो हौ भाइ ।’
‘के भएछ भिनाजु ?’
‘छिमेकी आइतहाङ्मा भाउजूलाई कुबेतबाट छोरोले फोनमा हप्काएछ ।’
‘के विषयमा हप्काएछ भिनाजु ?’
भनेछ– ‘मैले ह्याँ विदेशमा ताता घाममा सेकिएर कमाएको पैसाले तिमेर्लाइ त्याँ गाउँमा मात चढेछ । खेतबारी बाँझै राख्न थालेछौ । खनजोत गर्न छाडेछौ ।’
यताबाट भाउजूले भनिन् –‘हैन के भन्छ ? हामी रातोदिन खटेका छौँ ।’
उताबाट छोरोले भन्यो– ‘आधा खेतमा कोदो छरेको छ । आधा खेत बाँझै छ । त्यही हो खटेको ? के चाला हो ?’
भाउजूले तर्सेर भनिन्– ‘गर्दागर्दै नभ्याएर हो । हन तँलाई कल्ले पोल लगाउँछ हँ ह्याँ गामको बात?’
छोरोले भन्यो – ‘इन्टरनेटले भनेको’
आमैले सुनिछन्– ‘इन्द्रदेवले भनेको’

गाउँमा इन्द्र नाम गरेका एकजना भलादमी रहेछन् । ती फेला परे । ‘घरका कुरा परदेशतिर फुकेर उताका मान्छेलाई पीर पार्छस् ?’ भाउजूका दाजुले ति सोझा इन्द्रको झाँको झारेछन् । बिचरो इन्द्रले ‘मैले होइन कि मैले होइन’ भनेछ ।

दाजुभाउजूले भोलिपल्टै बाँझो फुटाएर कोदो छर्ने ब्यवस्था मिलाए । अर्को महिना विदेशबाट जान्नेसुन्ने भएर फर्केको छिमेकी लाठेले पो खबर ल्यायो– ‘ए...त्यो कुरो ? त्यो त इन्टरनेटमा गुगल अर्थले जम्मै देखाउँछ ।’

‘जम्मै देखाउँछ’ सुनेर भाउजूले जिब्रो टोकिन् ।

एकैछिन हाँसो भयो । अनि विषयले फड्को मार्यो र भान्जाभाइ प्रदिपको कुरो चल्यो । भेना भन्न थाले—‘मेरो जेठो हिजो साँझतिर घर आयो । परैबाट देखिहालेँ– कपाल छाँटेर मसिनो पारेछ । केटो भलादमी भएछ भनेर साह्रै खुसी लाग्यो । नजिकै गएर हेरेको त के को हुन्थ्यो । मसिनो त पारेछ तर टाउकैभरि बुट्टैबुट्टा पो हानेछ । यसले अहँ ! पढ्लाजस्तो छैन ।’
मैले हाँस्दै भनेँ– ‘कपालको डिजाइनले पढाइ छेक्दैन भेना । भान्जा पढाइमा बिच्छी छन् । पढ्छन् । हेर्दैजानू ।’

भेनासँगको बसाइभरि भान्जाको कपालको बुट्टादेखि लिएर नलिखुट्टामा साँघुरिने जिन्सपेन्टको ‘चुज’ शैलीसम्मका कुरा भए । कुरा त अरु पनि निकै विषयहरुमा भए । तर, अहिले मलाई उपन्यास लेख्ने मुड छैन । धेरैबेरको भलाकुसारीपछि फुपा आफ्ना घरतिर फिरे ।
बेलुकी भेनाका गफ सम्झिँदै म ओछ्यान छिरेँ । सिरकभित्र गुट्मुटिएर मोबाइलमा फेसबुक खोलेँ । प्रदिप भान्जाले म्यासेज पठाएका रहेछन् – ‘अब आइन्दा मलाई केही विमारी भएमा कुनै प्रकारको अचूक उपाय नदिनुहोला । प्लीज ।’
भाइलाई म्यासेज फर्काए– ‘किथ्रा विषयमा चिन्ता गर्नुहुन्न भान्जा । निलकण्ठ हलमा लूट लागेको छ । भोलि जाउँला दुईभाइ ।’

निद्राको बेहोसीमा डुब्नुअघि फूपाले सधैँ भन्नेगरेको दिव्यउपदेश सम्झेँ—‘पोइ छाड्ने स्वास्नी, जोई छाड्ने लोग्ने, पाइ छाड्ने व्यापारी र गाडि छाड्ने पेसेन्जर । हेर भाइ, धरतीमा यी चार खाले मान्छे फिटिक्कै काम लाग्दैनन् ।’