साहिँलो काका




घरको ल्यान्डलाइन किरिरि किरिरि बज्यो ।
हेलो !
उताबाट साहिँलो काकाको मसिनो बोली आयो— ‘के कसो छ जेठा ?’
‘राम्रो छ काका । तपाईँकै नौलो किताब ‘सुकरातको डायरी’ छिचोल्दैछु ।’
काका हाँस्नुभो । हाँस्दाहाँस्दै भन्नुभो— कस्तो छ केटा ?
—फोस्के भूसहरुले चैँ नपढे हुनेरहेछ काका । सारा जगतका सम्पूर्ण किताब खर्लप्पै पढिसिध्याएर लास्टमा पढ्नुपर्ने किताब रहेछ ।
फेरि हाँस्नुभो ।
नौलो प्रयोग हो केटा यो ।
हो रैछ काका । तीसौँ अध्याय सकेर अर्को पेजमा पुगेको मात्र थिएँ म झस्किएँ ।
हाउ ! किन झस्किस् ?
उपन्यास पढ्दै जाँदा ह्वात्तै सिरानमा Exercise लेखेको पन्ना पल्ट्यो । हे राम ! छवटा पसिना छुटाउने प्रश्न । तीमध्ये चार नम्बरमा ‘जोडा मिलाउनुहोस्’ रैछ । मिलाइदिउँ न त जोडा भनेर बल गरिहेरेँ । अहँ ! पार लागेन । पहिले पहिले स्कुलमा उत्तर मिलाउन नसकेर पिँडुलामा सिर्कना लाग्थ्यो । अहिले मनमा सिर्कनुले तात्नेगरि दियो तपाईँको उपन्यासले । अनि पहिलो पृष्ठबाट फेरि पढ्न थालेँ काका । जसरी भएपनि पास त हुनै पर्यो ।
फेरि हाँस्नुभो ।
बल गर है केटा । भूस होलास् ।


काकासँगको फोनवार्ता मेरा बाले एकतर्फी सुनिरहनुभएको रहेछ । फोन राखेपछि भन्नुभो— साहिँलोले भन्नेगरेको भूस नै रैछस् नि तँ । उपन्यासमा ‘अभ्यास’ भनेर दिएका प्रश्नहरुको उद्देश्य पाठकले उत्तर लेखेर पठाउन् भन्ने हो त ?
अनि के हो त ?
त्यो प्रयोग हो । कथाको हिस्सा हो । अन्य पृष्ठहरु जस्तै त्यो पृष्ठ पनि सरर पढ् । बस् ! अर्को पृष्ठमा हामफाल् । तेरो अध्ययन पुगेन स्याल ! हाडे ओखर दाँतले फुटाएर गुदी निकाल्न खोज्छस् ?
बाका कुराले फेरि सिर्कनु लाग्यो । अठोट गरेको छु— ओखर पक्का हाडे हो । तर, फुटाएर गुदी खाएरै छाड्छु । दाँत दुखे दुखोस् । भाँच्चिन चाहिँ नभाँच्चियोस् । फुस्किन चाहिँ नफुस्कियोस् । अहिले झन् गम्भीर रुपले सुरुदेखि पढ्दैछु । 
र, पढ्दापढ्दै बीचबीचमा साहिँलो काकालाई सम्झिरहन्छु । यस्तैमा मलाई अहिले ठ्याक्क एउटा घटना सम्झना आयो । काका अघिल्लो महिना घर आउनुभाथ्यो । आएको भोलिपल्ट बिहान सिकुवाको ब्रेन्चीमा बसेर दहीचिउरा खाँदैहुनुहुन्थ्यो । छेउमा मधुमेहको औषधीका बल्ढ्याङ्ग्रे गोटी थिए — दहीचिउरापछि आफ्नो पालो कुरेर बसेको औषधी । किनभने त्यो ओखतीगोली खाली पेटमा खान हुँदैन । 
छिमेकी मामा धुन्दुराम परैदेखि काकालाई नमस्ते गर्दै आइपुगे । उनको मुखबाट निस्केको पहिलो शब्द ‘नमस्ते’ थियो र लगत्तै निस्केको वाक्य थियो— तपाईँलाई सुगर छ हैन ?
धुन्दुमामाको विषयमा साँच्ची एउटा सम्झिनैपर्ने कुरा छ । त्यो के भने उनी हदै फित्कौली मान्छे हुन् । लुरे ज्यानका । कच्याककुचुक पारेर धर्मकाँटामा जोख्ने हो भने उही पैँतीस किलोका होलान् । हद से हद चालीस । त्यो भन्दा पर्तिर त मरेकाट्टे होइनन् । उनको यो भाटे ज्यान सम्झिरहनुस् है ! आउनलागेको सम्वादमा काम लाग्छ । 
त्यही त उनको मुखबाट निस्केको पहिलो शब्द ‘नमस्ते’ थियो र लगत्तै निस्केको वाक्य थियो— तपाईँलाई सुगर छ हैन ?
काकाः हो । 
धुन्दुरामः त्यही भएर पो अत्यन्त सुक्नुभएछ । (खासमा काका मोटोघाटो नै हुनुहुन्छ )
काकाः तपाईँलाई त केही विमारी छैन नि ?
धुन्दुरामः अहँ छैन । 
काका : त्यही भएर पो अत्यन्त हृष्टपुष्ट हुनुहुँदोरहेछ । 

धुन्दुराम फुत्तै उठेर कता बिलाए कता । चट्याङ्का बेला बिजुली चम्किनेबित्तिकै आकासमै बिलाएजस्तो बिलाए धुन्दुराम । 
अब अर्को कुरो, उनको नाम खासमा धुन्दुराम होइन । यो त मैले नाम परिवर्तन गरेर धुन्दुराम पार्देको । यसो गर्नु आवश्यक छ किनभने उनका दुवै छोरा कराँते च्याम्पियन हुन् र मेरो ब्लगको ठेगाना पनि तिनीहरुलाई थाहा छ । मलाई रातबिरात हाटबजार हिँड्नुपर्छ । केहो केहो नि । ‘सुकरातको डायरी’मा निलिमाले भनेकी छ पनि— समय खराब छ । दिनदिनै मान्छे मारेको सुन्छु । किन हिँड्नु अँध्यारामा ? मार्छन, नमारे पनि अधमरो पार्छन् ।
चम्चाले बटुको खर्याकखुरुक पारेर दहीचिउराको अन्तिम गाँस मुखमा हाल्दै गर्दा अर्का एक स्थानीय कथाकार आइपुगे उसैगरी परैबाट नमस्ते मार्दै । र चेतनाशून्य उनले उसैगरी उस्तै दिव्यवाणी  ओकले— राम ! राम ! कसका लागि हो यत्रा बडाबडा गोली ?
काकाः परिवारकै लागि हो । सबैलाई पुग्नेगरी रस बनाएर भातसँग मुछ्न । 
उनले त्यसरी राम ! राम ! लगाएर प्रश्न गर्दा उनको चेतना सुतेको थियो । काकाले गतिलो मुक्के उत्तर फर्काउँदा पनि उनको त्यो चेतना ब्यूँझिएन किनभने उनले बुझ्दैबुझेनन् । त्यसलाई मीठो ठट्टा सम्झेर खित्का छोडे जब्बर तालले । मनमष्तिस्कमा निद्रामा डुबेको चेतना बोकीहिँड्नेहरु पनि कथाकार बन्दा रहेछन् । नि काका ?
उनी हिँडेपछि मान्छेका प्रवृतिका बारे धेरै कुरा काकाले भन्नुभो । होसियार गर् है केटा । सकारात्मक सोच राख् है केटा । पूर्णिमाको कुरो गर्ने गर् । औँसीको विषयमा नबोल् है केटा । नत्र भूस होलास् । 


4 comments:

curly locks said...

hahahahaha office dherai hase aba manchhele baulaye bhanchhan, hehe
great job dai :)

Richa Bhattarai said...

ekdum ramailo lagyo dai :-)

Me said...

म त हाँसेरै भुस भएँ ।

प्रमोद अधिकारी said...

sambad padhda sarai ramailo laagyo

Post a Comment