Showing posts with label कथा. Show all posts
Showing posts with label कथा. Show all posts

एउटा हटियाको सम्झना


मेरो गाउँ दमक, भाङ्बारीबाट बुधबारे हाट भर्न गाउँलेको लस्कर लाग्छ बिहानैदेखि। दैनिक उपभोगका सामान खरिदने, हाट-रमिता हेर्ने, रमझम गर्ने, जेरी र भुजा खाने ध्याउन्न हरेकका आ-आफ्नै हुन्छन्। यो बजारको रौनकलाग्दो पक्ष भनेको तल पुछारमा लाग्ने पशु बजार पनि हो। पशुहाट भनिने त्यहाँको विशाल फाँटमा टा(टाढादेखि आफ्ना गाईवस्तु, बाख्रापाठा डोर्याउँदै किसानहरु आउँछन्। किनबेचमा जानेको दोहोरीलत्ता हुन्छ हाटमा।

म अलि सानै हुँदाको कुरा हो। एक बुधबार हाम्रो घरबाट पनि एउटा लैनो भैंसी त्यहाँ पुर्याइएको थियो। त्यो दिन बिहानै कुमार दाइले भैंसी र त्यसको पाडी आँगनमा निकाले। बिहानका कलिला घाममा भैंसीलाई मिचिमिचि नुहाइदिए घरका सबै मिलेर।जिउमा सुकेर टाँसिएको पाप्रा गोबरलाई पनि ढड्याउँदै घिरौंलो जालोले घोटीघोटी चिल्लो बनाए। भैंसी ओभाएपछि त्यसको सिङ्को फेददेखि पुच्छरको टुप्पोसम्म खानेतेल घसियो। बिक्री गर्ने समयमा हरेक घरमा यो प्रक्रिया दोहोरिने गर्छ। क्रेताको आँखामा झट्ट पर्न भैंसीराँगाले जिन्दगीमा यसैगरी ‘सनबाथ’ गर्न पाउँछन्। हाम्रो भैंसीले पनि यसरी एकाबिहानै रुप र सौर्न्दर्यको पुनजन्म पायो।

म कहिल्यै पशुहाट गएको थिइनँ। त्यो पटक मलाई पनि जाउँजाऊँ लागेर आयो। मैले आफू पनि जाने कुरो गरें बा-आमासँग। ‘त्यो केटाकेटी जाने ठाउँ होइन’ उनीहरुले कुरो भुइँमा खस्न नपाइ उछितो काढे।