एउटा हटियाको सम्झना


मेरो गाउँ दमक, भाङ्बारीबाट बुधबारे हाट भर्न गाउँलेको लस्कर लाग्छ बिहानैदेखि। दैनिक उपभोगका सामान खरिदने, हाट-रमिता हेर्ने, रमझम गर्ने, जेरी र भुजा खाने ध्याउन्न हरेकका आ-आफ्नै हुन्छन्। यो बजारको रौनकलाग्दो पक्ष भनेको तल पुछारमा लाग्ने पशु बजार पनि हो। पशुहाट भनिने त्यहाँको विशाल फाँटमा टा(टाढादेखि आफ्ना गाईवस्तु, बाख्रापाठा डोर्याउँदै किसानहरु आउँछन्। किनबेचमा जानेको दोहोरीलत्ता हुन्छ हाटमा।

म अलि सानै हुँदाको कुरा हो। एक बुधबार हाम्रो घरबाट पनि एउटा लैनो भैंसी त्यहाँ पुर्याइएको थियो। त्यो दिन बिहानै कुमार दाइले भैंसी र त्यसको पाडी आँगनमा निकाले। बिहानका कलिला घाममा भैंसीलाई मिचिमिचि नुहाइदिए घरका सबै मिलेर।जिउमा सुकेर टाँसिएको पाप्रा गोबरलाई पनि ढड्याउँदै घिरौंलो जालोले घोटीघोटी चिल्लो बनाए। भैंसी ओभाएपछि त्यसको सिङ्को फेददेखि पुच्छरको टुप्पोसम्म खानेतेल घसियो। बिक्री गर्ने समयमा हरेक घरमा यो प्रक्रिया दोहोरिने गर्छ। क्रेताको आँखामा झट्ट पर्न भैंसीराँगाले जिन्दगीमा यसैगरी ‘सनबाथ’ गर्न पाउँछन्। हाम्रो भैंसीले पनि यसरी एकाबिहानै रुप र सौर्न्दर्यको पुनजन्म पायो।

म कहिल्यै पशुहाट गएको थिइनँ। त्यो पटक मलाई पनि जाउँजाऊँ लागेर आयो। मैले आफू पनि जाने कुरो गरें बा-आमासँग। ‘त्यो केटाकेटी जाने ठाउँ होइन’ उनीहरुले कुरो भुइँमा खस्न नपाइ उछितो काढे।


‘जान्छु के जान्छु कुमारदाइसँग पशुहाट’ मैले जिद्दी छाडिन। कुमार दाइतिर यसो कुरो थपिमाग्न विनयी बन्दै हेरें। ‘जानुपर्छ’ भन्ने भाव देखाउँदै पशुहाटको दिशातिर मुख चोसो पारेर आँखा सन्काए दाइले। कुमार दाइ आफू कतै जाँदा मलाई पनि सँगै लैजान चाहन्थे। म बोलिरहने भएकोले उनको समय कटौनी बनेको हुनसक्छु म।

बाआमाले घरि चर्का घाम देखाउँदै, घरि भीड सम्झाउँदै, घरि लामो बाटो सम्झाउँदै हप्काइरहे। तर मेरो टेरपुच्छरसामु केही नलागेपछि म भैंसीको पुच्छर समाउँदै बाटा लागें। ‘ल है कुमार, भैंसी सँगसँगै यो भेडोलाई पनि उतै जिम्मा लाएर आउनू’बाआमाले एकै स्वरमा भने।

कुमार दाइ सानो पाडी घिस्याउदै थिए। छोरी अघि लागेपछि आमा डोर्याउँनै नपर्ने रहेछ ल। भैंसी त्यसै हिँड्यो। पर पुगुन्जेल पनि बाआमा आँगनबाटै कुमार दाइलाई भैंसीको मोल सम्झाउँदै हुनुहुन्थ्यो- बाइस ह.(हजार) घटेर चैं नदिनू है †’

गाउँले गोरेटोभर त भैंसी आनन्दैले हिँड्यो, गोठमा बस्दाबस्दा कुँजिएको शरीरलाई ब्यायाम मिलेझैं गरेर। तर जब मूल सडकमा निक्ल्यो, तब आफ्नो असली बेहोरा प्रदर्शन गर्न थाल्यो। एकछिन आनन्दले हिँड्थ्यो तर जब फाट्टफुट्ट बसट्रकहरु नजिकैबाट गुज्रन्थे, तिनको गन्द्र्याङ्गुन्द्रुङ् आवाजले तर्सेर बुरुक्क उफ्रन्थ्यो। नतर्सियोस् पनि कसरी, गोठबाट बारी, बारीबाट गोठभन्दा पर्तिरको संसारमा नपुगेको भैंसी। कुनैदिन पुगेको थियो भने पनि भैंसीको स्मरणशक्ति त्यस्तोबिध्न कडा कहाँ हुन्छ र ! जति नै उफ्रे पनि कुमारदाइका बलिया पाखुराले पाडीको डोरी र भैंसीको नाकी छोड्दैनथे। जब नाकको टुप्पोबाट पसिना चुहाउदै तर्सेका भैंसी परिवारलाई कुमार दाइ काबुमा ल्याउँथे, त्यो दृश्य हेर्दै म मस्तराम बनेर हाँस्थें।

बल्लबल्ल पशुहाट पुगियो। वर्णन गरिनसक्नु पशुभीडको एउटा खुकुलो ठाउँमा भैंसी लिएर गयौं। कुमारदाइले झोलाबाट झिकेर दुई वटा किलो ठोक्दै भैंसीपाडी बाँधे। पशुभीडको यो उकुसमुकुसमा म पसिनाले निथ्रुक्कै बनिसकेको थिएँ।

पर्तिर एकहल गोरु बाँधिएका छन्। वर्तिर एउटा गाई छ। त्यही छेउमा एकहल राँगा। हेर्दै हनुवा परेका ति वस्तुको सिङको टुप्पोले च्वास्स छोयोमात्रै भने पनि हुरुक्कै हुने सम्भावना छ। म डरले खुम्चिँदै बसेँ। भैंसी हाटसम्म पुर्याउने टन्टा त सकियो। अब पालो थियो ग्राहक कुर्ने।

वस्तु किन्न आएकाहरु हातमा एउटा लामो लौरो बोकेर गोरुराँगाका करङ्गमा छ्वासछ्वास घोच्दै हिँड्थे। त्यसो गर्दा ती वस्तु कतिको बडिकन्छन, त्यही आधारमा तिनको फुर्तिफार्ति छुट्याइँदो रहेछ। हाम्रो छेउका एकहल गोरु र अर्को हल राँगाले पनि घोचाइ खाइरहेका थिए। त्यसरी करङ्गमा घोच्दा फनक्क घुम्दै बुरुक्क उफ्रन्थे। ‘यसले चैं फुर्तिसँग जोत्छ जस्तो छ है !’ – ती घोचुवाहरु भन्थे। त्यसपछि सुरु हुन्थ्यो मोलमोलाइ। तर त्यहाँ चल्ने दलाली हेर्दा यस्तो लाग्थ्यो कि तिनीहरु वस्तु किन्न नआएर करङ् घोच्ने प्रतिस्पर्धामा भाग लिन आएका हुन्।

एउटा मान्छेले हाम्रो भैंसी निकै मनपरायो। दूध कति दिन्छ, कति बेत भयो, हान्छ हान्दैन, दूध लुकाउँछ लुकाउँदैन- सबै सोध्यो। तर उसले बीसभन्दा बढेर नदिने अडान सुनायो। ‘दाम त निकै चर्को भयो हौ भाइ !’ भन्दै यसो निहुरेर भैंसीको फाँचोमा हात पुर्याएको मात्र के थियो, भैंसीले दुईजोर लात एकैचोटि चलायो। त्यो मान्छे आचीले बाँच्यो।

‘ओहो भाइ ! दाम त चर्को भो भो, दुहुन बस्दाखेरि च्यापु खुस्काइदियो भने के भैंसी बेचेर उपचार गर्नु ’

‘बीचबजारमा जथाभावी फाँचामा हात हाल्ने हो त ! घर लगेर दुहेर त हेर्नुस्, दुहुन बस्दा यसले अलिकति खुट्टो उचालेको पनि रेकर्ड छैन। वास्तवमा यो हनुवा भैंसी नै होइन।’- त्यो मान्छेले भैंसी मजाले मनपराएको कुमार दाइले पनि बुझेका थिए। त्यही भएर व्यापारिक चतुर्याइँ लगाउन खोज्दै थिए उनी पनि।
‘हाम्लाई सिकाउँछौ – उहिलेका महिषपाल बंश हुँ म। तिम्रो यो भैंसी दुहीखाने खालको होइन। उप्रान्त काटीखाने व्यहोराको भैंसी हो यो।’ त्यो मान्छे लास्टै सन्केर बाटा लाग्यो। मलाई खुब रमाइलो लागिरहेको थियो, ति सबै दृश्य।

एउटा बरफवाला डमरु बजाउँदै आयो, टाउकामा बरफ भरेको टिनको भाँडो र हातमा त्यो अड्याउने काठको तीनखुट्टे फ्रेम बोकेर भीड छिचोल्दै। एक त केटाकेटी मान्छे, त्यसमाथि गर्मीले उखपात भैरहेको। दाइतिर आशावादी आँखा दौडाएँ। ‘आँत साह्रै सुक्यो’ भन्दै दाइले दुईवटा बरफ किने। त्यसले आँतमा बलिरहेको आगो मत्थर बनाउन साह्रै सहयोग गर्यो। खायौं बरफ दुई भाइले सुरुप‘.....सुरुप....


अलि पर एउटा चिल्लो, बलियो पाडो बाँधिएको थियो। एकजना दाइले त्यो मन पराए। करङ्ग घोचे, पुच्छर निमोठे। ती दाइलाई मनपर्ने गरी फर्ुर्ति देखाइदियो पाडोले। भनेको दाम पनि दिन तयार भए। दाइलाई जँचेको त्यो पाडोको निधार मुर्सार्न थाले। एकदुईपटक के मुसारेका थिए, दाइको हत्केलामा कालो रङ्ग लाग्यो। पाडाको निधारमा गोलो घेरा बनाएर उम्रेका सेता रौंको झुण्ड देखा पर्यो। ‘रामराम, यस्तो चाँदे पाडोलाई किर्ते गरी बेच्न खोज्ने तपाईँ कहाँसम्मको सडाउ मान्छे(’

एकैछिनमा त्यहाँ निकै मान्छे भेला भए। दाइमाथि केरकार सुरु हुन थाल्यो। सबैले ती दाइलाई नराम्ररी छेडछाड गरे। दाइ रातो मुख लाएर उभिइरह, किच्चक अनुहार अमिलो र धमिलो बनाउँदै।
त्यही भीडबाट एक लिम्बू दाइको भारी आवाज आयो-’ ओ मित्र, तिम्रो यो लोदर पाडो पशुहाट बाहिर पुर्याइहाल कि म यसलाई मुला काटेजस्तो एकै झोंकमा यहीँ छिनाउँछु।’

हाम्रो भैंसी अझै बिक्न सकिरहेको थिएन। आउनलाई त धेरै आए तर सबै रमिते जस्ता। गुण अवगुण सोधे, गुणैगुण मात्र सुने, मनपराए। तर भनेजति दाम पुर्याउन कसैले आँट गरेनन्। निकै अबेरसम्म बस्यौं। तर पनि हाम्रो भैंसी बिक्री भएन। पशुबजार नै निकै पातलो बन्न थालिसकेको थियो। किन्नेले किनेर लगिसकेका थिए र, हाम्रो छेउका गोरुराँगा, गाई बिक्री भैसकेका थिए। बिक्री गर्न नसक्नेहरु पनि आफ्ना वस्तु फुकाउँदै बाटा लागिरहेका थिए। अब पनि बस्दा घर बेलैमा नपुगिने थियो हामीले पनि भैंसीपाडी फुकायौँ र बाटा लाग्यौँ।

हामी घर पुग्दा पर क्षितिजमा राता घाम आधा मात्र देखिदै थिए। बुवाआमा बाटामा निस्किएर हाम्रै बाटो हेरिरहेका थिए। भैंसी लिएर गएका हामी, जस्ता गएका थियौं त्यस्तै फर्किएको देखेर सुस्केरा हाले बाआमाले। दाइ कुमारले गोठमा लगेर भैंसीपाडी बाँधे। र, सिकुवामा खत्र्याकखुत्रुक ज्यान फाल्दै बसे। उनी थकित एवं निरास बनेका थिए। ‘यसरी फर्काउनुको साटो त बीसमै दिएको भए पनि हुन्थ्यो नि ! दुःख मात्र पायौ।’ दाइको वाक्य बन्द थियो। बाआमाले फेरि दोहोर्याए -’ठीकै छ। अब अर्को बुधबार एकपटक विचार गर्नुपर्छ।’

थकित दाइ बेलुका छिट्टै खाना खाएर घुप्लुक्क सुतेका थिए। एकैछिनमा उनी र्घुनमा मग्न थिए। भैंसी बिक्री नभएको म भने दुखी थिइनँ। थाकेको त थिएँ तर निरास थिइनँ। धेरैबेरपछि मलाई लाटो निद्राले छोप्यो। त्यो घडि मेरो मनले भनिरहेको थियो- ’ठीक छ छोरा, अर्को बुधबार फेरि बरफ खान हटिया जानुपर्छ।’

0 comments:

Post a Comment