आफैँलाई खुल्ला पत्र

अरुले आफूलाई विर्सन थालेपछि
आफैँले समेत आफूलाई विर्सन थालिँदो रैछ
त्यसैले
आज आफैँलाई चिठी लेख्दैछु
प्रिय म
मलाई मेरो धेरै धेरै सम्झना ।

अरुले आफूलाई माया मार्दै लगेपछि
आफैँलाई मर्नु हुँदो रहेछ
त्यसैले आज आफैँलाई माया गर्दैछु
प्रिय म
मलाई मेरो धेरै धेरै माया ।

आफ्नो भनी संवोधन गर्नेहरुको संख्या
विस्तारै साँघुरिँदै गएपछि
आफ्नै अस्तित्वमाथि शंका सुरु हुँदो रहेछ
त्यसैले
आज आफैँसँग साइनो गाँस्न मन लाग्यो
उही
मेरो म ।

छतमा उभिएका छन् बा

म,
देउतालाई नचल्ने काम गरेर
पस्छु लुसुक्क छत मुनि ।
रिसाउँदैनन् देउताहरु
किनकि,
छतमा उभिएका छन् बा
देउतातिर फर्किएर उनी
असंख्यपटक जोडिरहन्छन्
मेरै नाम लेखिएका हत्केला ।

म,
पितृहरुले नगरेको काम गर्छु
तर देख्तैनन् पितृहरु मलाई
किनकि,
उनीहरुको मृत्यु तिथिमा
सारा पितृपेट अघाइदिन्छन् बा
बदलामा मागिदिन्छन् मेरै निम्ति आशिवार्द  ।

म,
दशठाउँ उधारो खाएर
सुटुक्क पस्छु छतमुनि
मलाई उधारो खुवाउनेहरु बाकै साहू भैदिन्छन्
छतबाटै सल्टाउँछन् बा उनका नयाँ साहूहरुलाई ।

छतमुनि ढुक्क छु म
मलाई यहाँ —
हप्काउँदैनन् देउताहरु
देख्तैनन् पितृहरु
छुँदैनन् साहूहरु
किनकि
छतमा उभिएका छन् बा ।

Also read :
Pramod's 
Sewa's

एउटा हटियाको सम्झना


मेरो गाउँ दमक, भाङ्बारीबाट बुधबारे हाट भर्न गाउँलेको लस्कर लाग्छ बिहानैदेखि। दैनिक उपभोगका सामान खरिदने, हाट-रमिता हेर्ने, रमझम गर्ने, जेरी र भुजा खाने ध्याउन्न हरेकका आ-आफ्नै हुन्छन्। यो बजारको रौनकलाग्दो पक्ष भनेको तल पुछारमा लाग्ने पशु बजार पनि हो। पशुहाट भनिने त्यहाँको विशाल फाँटमा टा(टाढादेखि आफ्ना गाईवस्तु, बाख्रापाठा डोर्याउँदै किसानहरु आउँछन्। किनबेचमा जानेको दोहोरीलत्ता हुन्छ हाटमा।

म अलि सानै हुँदाको कुरा हो। एक बुधबार हाम्रो घरबाट पनि एउटा लैनो भैंसी त्यहाँ पुर्याइएको थियो। त्यो दिन बिहानै कुमार दाइले भैंसी र त्यसको पाडी आँगनमा निकाले। बिहानका कलिला घाममा भैंसीलाई मिचिमिचि नुहाइदिए घरका सबै मिलेर।जिउमा सुकेर टाँसिएको पाप्रा गोबरलाई पनि ढड्याउँदै घिरौंलो जालोले घोटीघोटी चिल्लो बनाए। भैंसी ओभाएपछि त्यसको सिङ्को फेददेखि पुच्छरको टुप्पोसम्म खानेतेल घसियो। बिक्री गर्ने समयमा हरेक घरमा यो प्रक्रिया दोहोरिने गर्छ। क्रेताको आँखामा झट्ट पर्न भैंसीराँगाले जिन्दगीमा यसैगरी ‘सनबाथ’ गर्न पाउँछन्। हाम्रो भैंसीले पनि यसरी एकाबिहानै रुप र सौर्न्दर्यको पुनजन्म पायो।

म कहिल्यै पशुहाट गएको थिइनँ। त्यो पटक मलाई पनि जाउँजाऊँ लागेर आयो। मैले आफू पनि जाने कुरो गरें बा-आमासँग। ‘त्यो केटाकेटी जाने ठाउँ होइन’ उनीहरुले कुरो भुइँमा खस्न नपाइ उछितो काढे।