नियत


म सहिदगेटमा माइक्रोबस चढें । मलाई कीर्तिपुर जानुथियो । ड्राइभरछेउमै सिट भेटें । दक्षिण पट्टिको खुलाचौरमा सैनिकपरेड चलिरहेथ्यो । खलाँसी त्यतैतिर टोल्हाएको देखेर डा्रइभर बाहिर निस्क्यो । गएर त्यसका कानमा क्याराम खेल्दा औंलाले स्ट्राइकरलाई धकेलेझैं हिर्काइदियो । त्यो चीर निद्राबाट एक्कासी ब्यूँझिएझैं भयो । त्यो केटो त्यस्तै तेह्रचौधको थियो । कान छाम्दै आत्तिएर कराउन थाल्यो- ”आउनुस ! आउनुस ! त्रिपुरेश्वर टेकु कालिमाटी अँ.... अँ.... कालिमाटीभन्दा उताका स्टेसनहरु बिसर्ियो । ड्राइभरले फेरि टाउकामा ठुङ्ग हान्दै छुटेका स्टेसनहरु सम्झायो- कुलेश्वर बल्खु कीर्तिपुर है कीर्तिपुर‘।” त्यति बिर्सिएकोमा त्यस केटोले धत् भन्दै आफ्नै हातले आफ्नै टाउकामा धारेहात लगायो र उसैगरी कराउन थाल्यो- “त्रिपुरेश्वर टेकु कालिमाटी कुलेश्वर बल्खु कीर्तिपुर है कीर्तिपुर । यात्रु खचाखच भइसकेकाले माइक्रो हिँडीसकेको थियो । त्यो केटो भने उसैगरी भनेको भन्यै भयो- “त्रिपुरेश्वर,  टेकु.......” ।

त्यसको मूर्खता देखेर ड्राइभरले सडकतिर हेरीहेरी करायो- “कहाँ बीचबाटामा ढोका खुल्लै राखेको । ढोका लगाएर भित्र पस ! अहिले ट्राफिकले छेराउला पैसा” । त्यसले हत्तपत्त ढोका लगायो । र ढोका लगाइसकेर माइक्रोभित्रै पनि कराउन थाल्यो- “त्रिपुरेश्वर टेकु........
 यो काम लाग्ने मान्छे हुँदैहोइन ” – ड्राइभरले आफैं खुइय गर्यो- “हरे ! भित्रै चिच्याएर नमर् न । स्टेसनमा मात्र कराउनु । “ए १ बिसे्रछु पो ।” त्यसले फेरि आफ्नै टाउकामा धारेहात लगायो । मैले पछाडि फर्केर त्यसलाई हेरें । त्यसले सबै यात्रुलाई हेर्यो जो यतिखेर उसैलाई हेरिरहेका थिए । आफ्नो मूर्खताप्रति लज्जित हुँदै मुखाकृति बिगार्यो । “नयाँ मान्छे राख्नुभएजस्तो छ नि " – मैले ड्राइभरलाई सोधें- “तालिमप्राप्त रहेनछ “ 


ड्राइभरले क्रोधमिश्रित स्वरमा भन्यो-  “बजियालाई नियम सबै घोकाएर पाँचदिन अघिदेखि लगाएको कत्ति टिप भइसक्यो अहिलेसम्म जानेको छैन । यस्ता त कहिल्यै आएनन् र आउदैनन् पनि होला पक्कै । “निकै सोझो जस्तो छ” – मैले भनें ।” यस्ता सोझाको त यो लाइनमा कामै छैन ।”- उसको स्वरमा अझै क्रोध घोलिएको थियो-  ”आज दिनभरिमा पनि सिकिसकेन भने निकालिदिन्छु गधालाई ।” त्यतिकैमा त्रिपुरेश्वर आयो । ओर्लिने ओर्लिए र चढ्ने चढे ।

हाम्रो यात्रा फेरि अघि बढ्यो । “भाडा लिन त बिर्सिनस्  होला नि “- ड्राइभरले खिसी गर्दै भन्यो ।
 “लिएँ” त्यसले भन्यो । “यो कहाँको मान्छे ?“ मैले जिज्ञासु भएर ड्राइभरलाई सोधें ।
 “उता पश्चिम पहाडको” – ड्राइभरले भन्यो ।
 मैले आश्चर्यभावमा भनें-”अनि यहाँ खलाँसी बन्न कसरी आइपुग्यो यस्तो सोझो ? “
 “मेरो उतै पहाडघरको छिमेकी हो । यसकी आमा छिमेकी दिदीले तपाईंले लगेर आसपासमा राखेर एउटा काम लगाइदिनुपर्यो भन्नुभएथ्यो । त्यसैले म आफैंले लिएर आएको ।”


 उसले खुइय गर्दै भन्यो- ”खै काम लाग्दैन पो होला” । “सिकीहाल्ला नि दुईचार दिनमा”- मैले त्यस केटोका जागिर बचोस् भन्ने कामना गर्दै भनें ।
 “अघिल्लो खँलासी पनि ठीक्क भागेको बेला परेको त्यही भएर साहुलाई भनेर आफ्नैमा हालेको” - त्यसले निरासाको स्वरमा भन्यो- ”साह्रै नै सोझो छ । यसकी आमा चैं यसलाई सहर लगेर बाठोटाठो बनाइदिनुपर्यो । दुईचार पैसा कमाएर पठाओस् भन्दै आफ्नो गरिबी सम्झेर रुन्थिन् । यो चैं यतिसम्म सोझो छ कि के भन्नु‘! अस्ति एउटा माग्ने केटो ढोकामा आएर मरें मरें ! पेटमा अन्न नपरेको एकहप्ता भो भन्दै रोएझैं नाटक गर्दैथ्यो । हेर्दाहेर्दै यस मोराले त उठाएको भाडाजति त्यस डाकाका हातमा दिईहाल्यो । ए पखपख! भन्दै म ढोका खोलेर पुग्दानपुग्दै त्यो माग्ने सुईँकुच्चा ठोकेर कता बिलायो बिलायो । काठमाडौंमा मान्छे बिलाउन के बेर लाग्छ र । के गर्नु यसका गालामा दुईझापट कसेर अर्को पटकलाई बुद्धि भर्दिएँ । 
यसरी पनि काम चल्छ त तपाईं आफैं भन्नुस् त- “ मैले उत्सुक भएर सोधें -”पैसो बुझाउँदा साहुले थाहा पाएन  “धेरै त थिएन । त्यही डेढसयजति थियो होला । मैले आफ्नै गोजीबाट हालेको छु । पछि यसको तलबबाट लिन्छु नि ।”- ड्राइभरले भन्यो ।

कालिमाटीमा माइक्रो रोकियो । कतिखेर टेकु कट्यो थाहै पाइनँ । त्यहाँ पनि ओर्लिने ओर्लिए । खलाँसी यात्रु बोलाउँदै कराउन थाल्यो-”टेकु कुलेश्वर बल्खु कीर्तिपुर‘।”
 “टेकु अघि नै कटिसक्यो । कुलेश्वरदेखि चिच्या । “-ड्राइभर रन्क्यो । 
त्यो फेरि सपारेर भन्न थाल्यो-”कुलेश्वर बल्खु कीर्तिपुर ।” 

तिनीहरुको कुरोले मलाई हाँसो जाग्यो । मलाई हेरेर ड्राइभरले भन्यो-”यी देखिहाल्नुभो नि । यस्तो छ । सुस्त हो यो सुस्त ।”
 “हो साह्रै नै सोझो रहेछ” -मैले भनें ।
 “अलि बाठा लगायो हिसाब गडबड गरिहाल्छन् सोझाजस्ता लागेर काम दियो यी यस्ता पर्छन्”- ड्राइभरले दुखेसो पोख्यो । 
“सबै कुराले मिलेका एकदम सक्षम त कहाँ पाइन्छन् त ।” मैले सान्त्वना दिएँ-”सिकाउने त आफूले पो हो ” । “हो हुन त । स्वीकारेझैं गरी ड्राइभरले भन्यो-”खै यसले सिक्ने कहिले हो कहिले ।” 
यस्तै कुराकानी गर्दै बाटो छोट्याउँदै थिएँ । कतिखेर कीर्तिपुर आइपुगेछ पत्तै पाइनँ ।

ओर्लिएर त्यो केटोलाई भाडा दिदै भनें-"अलि चलाख भएर काम गर्नू । यहाँ त सोझो भएर काम चल्दैन । सोझो औंलाले घिउ आउदैन भन्ने त सुनेकै होला ।"
 त्यसले ल नाइँ हो होइन केही प्रतिक्रिया दिएन । म यति भनेर हिँडे । म त्यो दिनको घटना कहिलेकाहीँ सम्झिरहन्थें । के त्यो केटोले आफ्नो काम जान्यो होला ? अलि चलाख भयो होला ? कि त्यसले निस्कनुपर्यो  ?कहिले काहीँ मेरो मनमा यिनै कुराहरु खेल्थे । मलाई त्यसको विषयमा निकै खुल्दुली थियो । म बारम्बार कीर्तिपुर गइरहनुपथ्र्यो । त्यही माइक्रो परिहाल्छ कि भनेर म प्रायः माइक्रोमैं यात्रा गर्दथें । तर त्यो संयोग परेको थिएन । कुरिरहँदा त भेटिन्थ्यो पनि होला । तर त्यसो गर्न समय र जाँगरले साथ पनि त दिनुपर्यो ।म एकदिन कीर्तिपुर जानकै लागि सहिदगेटमा साधन कुरिरहेथें । यत्तिकैमा एउटा माइक्रोबस आएर रोकियो । त्यो त्यही माइक्रोबस रहेछ भनेर त्यसको चालक हेरेरै मैले चिनिहालें । करिब पन्ध्र दिन बितिसकेको भएपनि त्यो ड्राइभरको छवि मनबाट हराएको थिएन । तर अफसोच त्यो पहिलेको खलाँसी केटो भने थिएन । त्यसको ठाउँमा अर्कै एउटा कराइरहेको थियो । पक्कै पनि त्यो काम नलाग्ने नै भएर निकाले होलान्-  मेरो मनले भन्यो ।
 मान्छेले सोझो हुँदा पनि नहुने । बाङ्गो हुँदा पनि नहुने । ठीक्कको हुनै गाह्रो । मलाई त्यो केटो सम्झेर दुःख लागेर आयो । मैले कल्पना गरें त्यो फर्केर गाउँ गयो होला । त्यसकी आमाले छोरो बेकम्मा फर्किएको देखेर कति चित्त दुखाइन् होला । गरिबि फाँड्न साथ देला भनेर पठाएको फेरि गरिबि अँगाल्नै आयो । यो देखेर कति रोइन् होला । मलाई नराम्रो लागेर आयो ।
 मैले ड्राइभरको झ्यालमा गएर उत्सुक हुँदै सोधें-"ए दाइ ! अस्ति तपाईँले आफ्नै गाउँबाट ल्याएको त्यो सोझो केटो त छैन नि ? निकाल्नै पर्ने भयो कि ” 
ड्राइभरले अत्यन्त झोंकिएको स्वरमा भन्यो-"कहाँ निकाल्नु ? दुईचार दिनमा त त्यो एकदम कामजान्ने भएको थियो । यो सहरले सोझो मान्छे त कहाँ देखिसहन्छ र ? एकदिन बेलुकीसम्ममा उठेको पैसामध्ये हजारजति उसैले बोकिराखेको थियो । साँझ झिसमिसेतिर टेकुमा माइक्रो रोकेको बेला सुइत्त भागेको कुन चेपमा छिर्यो छिर्यो । हराएको हरायै भयो । साँझको समय फेरि त्यो भीड । काठमाडौंमा मान्छे बिलाउन के बेर लाग्छ र खोज्न पनि कहाँ खोज्नु । घरतिर खबर गरेको त्यहाँ पनि गएको रहेनछ ।” 
दाँत किट्दै ड्राइभरले फेरि थप्यो-"त्यसले गर्दा आफ्नो गोजीको पैसा तिर्नुपर्यो । त्यो जहाँ भएपनि किरा परेर मरोस् ।” 
म सोचमा परें । मान्छेको स्वाभाव ठाउँमा परेर कत्ति चाँडै परिवर्तन हुँदोरहेछ । पैसा र सहरले त्यस्तो सोझोलाई पनि भाग्न सिकायो । पैसाले त्यस्तो सोझोलाई पनि विश्वास तोड्न अह्रायो । मलाई अचम्म लाग्यो । जे भएपनि त्यो केटो त अब भागिसकेको थियो । मलाई त्यहाँ टोल्हाएर बस्ने फुस्रद थिएन । मलाई त कीर्तिपुर जानुथियो । ड्राइभरको छेउमा सिट खाली थिएन । म पछाडि सिटमा गएर बसें ।

0 comments:

Post a Comment